काठमाडौं – नेपालका Gen Z युवापुस्ताले भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरोधमा आज गरेका प्रदर्शन तात्तिएको छ। प्रदर्शन नियन्त्रणका लागि प्रहरी तर्फबाट रबरको गोली प्रहार गरिएको बताइए पनि, सिभिल अस्पतालका चिकित्सकले घाइतेहरुको शरीरमा धातुका गोली भेटिएको पुष्टि गरेका छन्।
युवापुस्ताको आन्दोलन शान्तिपूर्ण रूपमा सुरु भए पनि प्रहरीको हस्तक्षेपपछि अवस्था उग्र बनेको थियो। घाइते भएका केही युवालाई उपचारका लागि विभिन्न अस्पताल पुर्याइएको छ, जसमा सिभिल अस्पताल प्रमुख केन्द्र बनेको छ। त्यहाँका चिकित्सकहरूले प्रहरीले प्रयोग गरेको बल प्रयोगको प्रकृतिप्रति शंका व्यक्त गरेका छन्।
सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णय र बढ्दो भ्रष्टाचारविरुद्ध आज राजधानीका विभिन्न स्थानमा युवाहरू सडकमा उत्रिएका थिए। उनीहरूले “नयाँ पुस्ताको आवाज दबाउन सकिन्न” भन्दै नाराबाजी गरेका थिए।
यस घटनाले प्रहरीको बल प्रयोग, सरकारको निर्णय, र युवापुस्ताको आक्रोशबारे गम्भीर बहस फेरि एकपटक सार्वजनिक चर्चामा ल्याएको छ।